फेरी उनको याद आयो

Friday, May 22, 2020

आज बिहान पधेंरीमा फेरी उनको याद आयो ।
कलकल गर्ने मुहानको आवाज सँगै
उनका दन्तेलहर को स्मरण गर्दै गर्दा
तल्ला घरकी साहिली को खित्कामा
माथ्ला घरको हर्केको ठट्टामा
श्यामको स्पर्श सँगै, मुनाको लाज मा
गोरेटो, गल्ली र गाँउलेका माँझ मा
उनको अट्टाहसको कमी छायो
आज बिहान पधेंरीमा फेरी उनको याद आयो ।

आज साँझ मझेरीमा फेरी उनको याद आयो ।
त्यही पुरानो घरको भन्सा कोठामा
आगो फुक्दै गर्दा, धुँंवाले डम्म तुँवालो लाग्दा
पुरानो दराजको माथिल्लो खापामा
राखिएका काँसका थाल
र पित्तलका लोटामा जमेको धुलो ले
बर्षौं बितिसकेको आभाष ल्यायो
आज साँझ मझेरीमा फेरी उनको याद आयो ।

आज रात यो अँधेरीमा फेरी उनको याद आयो ।
दर दर बगिरहेका यी आँशुका धारामा,
गुटुमुटु कोल्टे फेरेको छोराको न्यनो सहारामा,
अनिधो यो सुस्केरामा, ससल्किने शुन्यतामा,
वैचेन मनको अदृश्य चाहनामा
र बेहाल जिवनको बेनामी बहानामा,
आज फेरी एकचोटि, एक्लोपन मौलायो ।
आज रात यो अँधेरीमा फेरी उनको याद आयो ।
©srijaprasita

0 comments: